मंगलवार, १२ श्रावण, २०८३

नागढुंगा सुरुङको भोलि उद्घाटन, आकस्मिक सवारी मात्र गुड्न पाउने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १० श्रावण, २०८३

नागढुंगा सुरुङको भोलि उद्घाटन, आकस्मिक सवारी मात्र गुड्न पाउने

२०८३ साउन १०, काठमाडौँ। देशकै पहिलो आधुनिक सुरुङमार्ग, नागढुंगा सुरुङमार्गको भोलि औपचारिक रुपमा उद्घाटन हुने भएको छ । ऐतिहासिक परियोजनाको उद्घाटनपछि सुरुमा आकस्मिक सवारीलाई मात्र प्रवेश दिने आयोजना प्रमुख सौजन्य नेपालले जानकारी दिए ।

उनका अनुसार उद्घाटन भएलगत्तै सबै प्रकारका सवारी साधनका लागि यो मार्ग तुरुन्तै खुला हुने छैन । बरु यसलाई सुरक्षित र व्यवस्थित बनाउन चरणबद्ध रुपमा सञ्चालनमा ल्याइनेछ ।

आयोजना प्रमुख नेपालले पहिलो चरणमा एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन जस्ता आपतकालीन एवं अत्यावश्यक सवारी साधनहरुलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइने योजना रहेको बताए ।यसरी सीमित संख्यामा सवारी साधन चलाएर सुरुमा त्यहाँको सुरक्षा स्थिति र ट्राफिक व्यवस्थापनको गहन अध्ययन गरिनेछ ।

सबै गाडीहरू एकै पटक सुरुङभित्र प्रवेश गराउँदा व्यवस्थापनमा चुनौती थपिन सक्ने भएकाले सुरक्षालाई नै मुख्य प्राथमिकतामा राखेर यस्तो रणनीति अपनाइएको नेपालले बताए ।

सुरुङमार्गमा अत्यावश्यक सवारी साधन चलाएर गरिने यो परीक्षण अवधि करिब एक हप्तादेखि १० दिनसम्मको हुन सक्नेछ ।यद्यपि, यदि प्राविधिक तयारी र सुरक्षा जाँचहरु अपेक्षा गरेभन्दा चाँडो सम्पन्न भएमा यो भन्दा छिटो पनि अन्य सवारीका लागि मार्ग प्रशस्त हुने छ ।

यो परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने आपतकालीन सवारी साधनहरूले कुनै पनि प्रकारको दस्तुर वा टोल शुल्क तिर्नु पर्ने छैन ।अत्यावश्यक सवारी साधनको सफल परीक्षण र सुरक्षा सुनिश्चितता पछि मात्र सर्वसाधारणका सवारी साधनहरु क्रमिक रुपमा भित्रिन पाउनेछन् ।

यस प्रक्रियामा सुरुमा साना सवारी साधनलाई एकतर्फी रुपमा सञ्चालन गर्न सकिने र त्यसपछि मात्र बस लगायतका ठूला सार्वजनिक सवारी साधनहरूलाई अनुमति दिइने तयारी भइरहेको छ ।

advertisement_1680627680.gif