शुक्रबार, १५ फाल्गुन, २०८२

नेपाल-भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २५ माघ, २०८२

नेपाल-भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

२०८२ माघ २४, विराटनगर । नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको उपचारका क्रममा निधन भएको छ ।

मोरङको विराटचोकमा शुक्रबार नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारी सहभागी डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला एसपी घिमिरे अचानक बेहोस भएका थिए । बैठकस्थलमै ढलेपछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो ।

बेहोस भएर ढल्ने क्रममा एसपी घिमिरेको जिब्रो काटिएको थियो। स्वास्थ्य अवस्था झन् बिग्रिँदै गएपछि उनलाई सघन उपचारका लागि भेन्टिलेटरको सहायता लिइएको थियो । सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनी पकली सुनसरीका डीआईजी कुमार न्यौपानेका अनुसार नम्बर ३ बाहिनी गाढीमाई मुख्यालय मकवानपुरमा सरुवा भएका घिमिरे शनिबार त्यता जाने तयारीमा थिए ।

उक्त बैठकमा सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा तथा भारतीय एसएसबीको तर्फबाट डिआइजी सरोजकुमार थाकुर, मन्जिीत सिंह, सुरेश सुब्रमनिम, राजेस टिक्कु र मनिष कुमारको समेत उपस्थिति थियो ।

चिकित्सकको प्रयासका बाबजुद उपचारकै क्रममा राति ८ बजेर ५२ मिनेटमा उनको निधन भएको हो। प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा उनलाई उच्च रक्तचाप देखिएको थियो ।

advertisement_1680627706.gif