राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २१ श्रावण, २०८२
२०८२ साउन २०, काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर प्रसाद गैरेले पूर्णरुपले अवरुद्ध भएका राजमार्ग सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ग्रामिण क्षेत्रका सडक अवरुद्ध हुँदा स्थानीय जनजीवन कष्ठकर भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘पश्चिम पाल्पाको जुठापौवा, बलङगढीखण्डमा बाटो भासिएर स्थानीय जनजीवन कष्ठकर भैरहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतका आरुभञ्ज्याङ राम्दीखण्ड त्यहाँका सम्पूर्ण ग्रामिण क्षेत्रका सडकहरु समेत पहिरोले बन्द भएको छ । नागरिकहरुको यात्रा अवरुद्ध हुँदा त्यसलाई सुचारु गर्न सरकारको प्रयत्नलाई सार्थक रुपमा रुपान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भने ।
उनले सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबाखण्डमा ठूलो पहिरो जाँदा लगभग १९/२० घण्टादेखि यात्रुलाई आवतजावत गर्न अप्ठेरोमा परेको भन्दै राजमार्ग पुर्णरूपमा सुचारुको लागि ध्यानाकर्षण गराएका छन् ।
उनले भने, ‘सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबाखण्डमा ठुलो पहिरो जाँदा १९/२० घण्टा देखी सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुहरु र त्यो क्षेत्रबाट अन्य क्षेत्रमा जाने यात्रुहरुको यात्रा पूर्णरुपले अवरुद्ध भएको छ । यात्रुहरु बाटोमा विचल्ली हुने परिस्थीति बन्यो, त्यहाँबाट नुवाकोट दोभानको वैकल्पित बाटो सञ्चालन गर्न तिनाउ गाउँपालिका, सरकार, सुरक्षाकर्मी लगायतले प्रयत्न गरिरहनु भएको छ तर सफल हुन नसकेको संसदमा बताए ।
h,