राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २० भाद्र, २०८२
२०८२ भदौ २०, काठमाडौं । सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले पनि दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ । टेलिकमले बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम दिइएको निर्देशन बमोजिम नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन यस कम्पनीलाई लेखी आएकाले सोही निर्देशन बमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको व्यहोरा जानकारीका लागि उक्त प्लेटफर्म नचल्ने जानकारी दिइएको हो ।
मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले पनि आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबाट पर्न सक्ने असुविधाप्रति क्षमा समेत मागेको छ । एनसेलले सरकारको निर्देशन बमोजिम सञ्जालहरू नचल्ने जानकारी गराएको हो ।
एनसेलले सरकारको निर्देशन बमोजिम सञ्जालहरू नचल्ने जानकारी गराएको हो ।
त्यस्तै इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु आफ्नो तर्फबाट निस्किृय बनाइएको जनाएको छ । वर्ल्ड लिंकले सरकारको आग्रहअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरिएको बताएको छ ।
वर्ल्ड लिंकले आज शुक्रबार बिहान एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशनबमोजिम नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरिएको जनाएको हो ।
सरकारले सूचीकृत हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई रोक लगाउने निर्णय गरेको सँगै मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रय गर्ने प्रकिया सुरू गरिएको प्राधिकरणले जनाएको छ । टेलिकमका अनुसार ती प्लेटफर्महरू पुनः सञ्चालनमा ल्याउने विषय आगामी दिनमा प्राधिकरणबाट प्राप्त हुने निर्देशन अनुसार हुने प्राधिकरणले जनाएको छ ।