शुक्रबार, १५ फाल्गुन, २०८२

साँखु बस दुर्घटना : मृतक संख्या पाँच पुग्यो, २३ जना घाइतेको उपचार जारी

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २४ पुष, २०८२

साँखु बस दुर्घटना : मृतक संख्या पाँच पुग्यो, २३ जना घाइतेको उपचार जारी

२०८२ पुष २४, काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हालसम्म २३ जना घाइतेको उपचार भइरहेको छ भने पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रहरीले दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको पहिचान खुलेको जनाएको छ । मृत्यु हुनेमा कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङकी ५१ वर्षीया इन्दिरा लिम्बु, काठमाडौँको पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, पाँचथर घर भई गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु र काठमाडौँ जोरपाटी बस्ने ६० वर्षीय अर्जुन लामिछाने रहेका छन् । यसअघि गएराति तीन जनाको मात्र पहिचान खुलेको थियो ।

बुधबार साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका यात्रुहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ केयर अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1676551537.gif