राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ३० श्रावण, २०८०
काठमाडौं । नेपाली सेनाले बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा खोज तथा उद्दारलाई जारी राखेको छ । नेपाली सेनाले, देशका विभिन्न स्थानमा परिचालित सेनाहरूले देशका विभिन्न ठाउँमा गएको बाढी तथा पहिरोबाट प्रभावितको उद्दार तथा राहतको काम भइरहेको जानकारी दिएको छ ।
मुस्ताङ्ग जिल्लाको कागखोला नदीमा लेदोसहित आएको बाढीको कारण बारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागबेनी बजार ईलाका जलमग्न÷लेदोयुक्त भएको हुँदा स्थानीयवासी र आवश्यक सामग्री सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क सूचना निर्देशनालयले अनुसार २८ गते गएको पहिरोमा परि बेपत्ता भएका दोलखा जिल्ला, विगु गाउँपालिका–७, तिनपानेका एकजना स्थानीयवासीको शव दुई वटा ढुङ्गाको बीचमा चेपिएर रहेको अवस्थामा फेला पारी प्रहरीलाई बुझाइएको सेनाले जनाएको छ ।
म्याग्दी जिल्ला, बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सीमानामा पर्ने बेनी–दरवाङ्ग सडक खण्डमा पहिरो गई सडक अवरुद्ध भएको हुँदा अन्य निकायहरुसंग समन्वय गरी पहिरो गएको स्थानमा ग्याविन जालीमा ढुङ्गा भरी तटबन्ध निर्माण गरिएको जनाएको छ।
सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउँपालिका–५ स्थित थामे खोलामा पानीको सतह बढ्न गई स्थानीय थामे गाँउमा क्षति पुग्न सक्ने भएको हुँदा स्थानीयवासीको सहयोगमा बाँध निर्माण गर्नुको साथै सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाउँपालिका–६ स्थित नयाँबस्ती टोलमा मेलम्ची खोलामा आएको बाढीका कारण जोखिममा रहेका ६ वटा घरहरुबाट स्थानीयवासी लगायत सरसामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
बाँके जिल्ला, बैजनाथ गाउँपालिका–१, नाङढुंगामा कोहलपुरबाट सुर्खेत जाँदै गरेको भे.१.ज. १०५० नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका यात्रुहरुलाई उद्वार गरी उपचारको लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।
बाढी पहिरो प्रभावित देशका विभिन्न स्थानहरुमा उध्दार कार्यहरु जारी रहेको छ भने आकस्मिक विपद्को सामना गर्न फौजलाई तयारी अवस्थामा राखिएको छ ।