राष्ट्रिय सन्देश संबाददाता, १६ घण्टा पहिले
२०८३ भदौ २७ सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका–५, सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
त्रिवेणी गाउँपालिका–५, सिम्कबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको लु.प्र. ०२००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा त्रिवेणी गाउँपालिका–६, पोखरीका आठ वर्षीय रेशम बुढाथोकी र वडा नम्बर ५, सल्लेका १८ वर्षीया विपना बुढाथोकीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार गम्भीर घाइते दुवैजनाको सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–५, सिम्कका २४ वर्षीय भुपाल पुन, २९ वर्षीय पारस बोहरा, ४० वर्षीय डिल्लीबहादुर वली र ४२ वर्षीया लालमित बुढाथोकी घाइते भएका छन् ।
घाइते चारैजनाको त्रिवेणी हेल्थ केयर, लुहाममा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही रिफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।