मंगलवार, ९ असार, २०८३

वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ

२०८३ असार ०८, काठमाडौं । कञ्चनपुरको एक होटलमा आयोजित सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् ।

भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि मुक्का प्रहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कुँवरलाई नियन्त्रणमा लिएको हो ।

कार्यक्रमका क्रममा दुवै पक्षबीच भनाभन भएपछि कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

उनलाई तत्कालै वडा प्रहरी कार्यालयको टोलीले घटनास्थलबाट नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले कुँवरलाई पक्राउ गरेर जिप्रकाको हिरासतमा राखिएको बताए ।

उनीविरुद्ध वडाध्यक्ष देवकोटाले अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दिएको बताउँदै डीएसपी रावतले मुद्दा प्रक्रियामा अघि बढ्ने जानकारी दिए ।

​सोही आधारमा मुद्दा दर्ता भइसकेको र अदालतबाट म्याद थपको प्रक्रिया अगाडि बढाइएको डीएसपी रावतले बताए ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

advertisement_1680627706.gif