राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ कार्तिक १५ काठमाडौँ । प्रसिद्ध गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा गरिएको नियुक्तिप्रति चौतर्फी विरोध जनाउँदै सरोकारवालाहरूले उक्त निर्णय तत्काल बदर नभए अदालत जाने चेतावनी दिएका छन् ।
राजधानीको संवाद डबलीमा आयोजित एक कार्यक्रममा वक्ताहरूले आनीको योग्यता, नागरिकताको वैधता तथा सम्पत्तिको स्रोतमाथि गम्भीर प्रश्न उठाउँदै नियुक्ति प्रक्रिया प्रथम दृष्टिमै गैरकानुनी र राष्ट्रिय हितविपरीत रहेको आरोप लगाएका हुन् ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आनीको नागरिकता र स्रोत नखुलेको रकमबारे छानबिन चलिरहेकै अवस्थामा गरिएको नियुक्तिले सरकारको सुशासनप्रतिको प्रतिबद्धतामाथि ठूलो प्रश्न उठाएको बताए । त्यसैगरी अभियान्ता युवराज सफलले जिल्ला प्रहरी परिसर काठमाडौँ र सम्पत्ति शुद्धीकरण विभागबाट प्रतिवेदन प्राप्त हुनासाथ अदालतमा चुनौती दिने स्पष्ट पारे ।
अन्य वक्ताहरूले उपाध्यक्ष पदका लागि आवश्यक कम्तीमा स्नातक तहको शैक्षिक योग्यता र कार्यअनुभवको मापदण्ड उल्लङ्घन गरिएको तथा भूराजनीतिक प्रभावका आधारमा यो निर्णय गरिएको दाबी गर्दै नियुक्ति यथाशीघ्र बदर गर्न माग गरेका छन्।