मंगलवार, २७ आश्विन, २०८३

एमालेमाथि अझै घेराबन्दी छ, राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बन्यो : अध्यक्ष ओली

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

एमालेमाथि अझै घेराबन्दी छ, राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बन्यो : अध्यक्ष ओली

२०८३ असोज २६ काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथिको घेराबन्दी अझै नसकिएको बताएका छन् । उनले ठूला र बलिया पक्षहरूले बलजफ्ती गरेमा त्यसको कडा प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी दिनमा आउने चुनौतीहरूको डटेर सामना गर्नुपर्नेमा जोड दिए ।

‘लोकतन्त्र मासिएको छ र स्वाधीनता तथा स्वतन्त्रतालाई कमजोर बनाइएको छ । यी कुराको पुनःप्राप्ति गर्नु अहिलेको अनिवार्य सर्त हो,’ उनले भने, ‘हामी यसको पुनःप्राप्तिका लागि प्रतिबद्ध छौँ । यदि फेरि पनि बलजफ्ती र दमन गरिन्छ भने त्यसलाई अस्वीकार गरेर हामी प्रतिवादमा उत्रिनेछौँ, जुन हामीले विगतमा पनि गरेका थियौँ र अहिले पनि गर्नुपर्ने हुन्छ ।’

उनले शान्तिको पक्षमा समाज उभिनुपर्ने बताउँदै निहत्था जनतामाथि हतियार र संगठित बल प्रयोग गरेर दबाइन्छ भने त्यस्तो अवस्थामा चुप लागेर बस्न नहुने स्पष्ट पारे ।

‘आगो लगाउनु वा लुटपाट गर्नु आन्दोलन होइन । आन्दोलन भनेको ठूलो र बलियोले कमजोरमाथि गर्ने बलजफ्तीको प्रतिवाद गर्नु हो,’ ओलीले भने ।

साथै, उनले आगामी निर्वाचनमा पनि पार्टीविरुद्ध विभिन्न किसिमका घेराबन्दी जारी रहने बताए । विगतका वर्षहरूमा पनि एमालेविरुद्ध चौतर्फी घेराबन्दी गरिएको प्रसङ्ग उल्लेख गर्दै उनले जुनसुकै परिस्थिति आए पनि पार्टी दृढताका साथ अगाडि बढ्ने बताए ।

advertisement_1676553851.gif