बुधबार, २८ आश्विन, २०८३

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच द्विपक्षीय भेटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच द्विपक्षीय भेटवार्ता

२०८३ असोज २७ काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका अवसरमा नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित भारत मण्डपममा भएको उक्त भेटमा दुई देशबीचको सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, सीमापार हुने अपराध नियन्त्रण गर्ने तथा विपद् व्यवस्थापन, पूर्वतयारी एवं प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने जस्ता महत्त्वपूर्ण विषयमा गहन छलफल भएको छ ।

भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा हालै गएको विनाशकारी बाढी र पहिरोपछि भारत सरकारले पुर्‍याएको समयसापेक्ष सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

भारतस्थित नेपाली दूतावासका अनुसार उनले सार्वभौम समानता, आपसी सम्मान र पारस्परिक विश्वासका आधारमा दुवै देशका जनताको हितका लागि व्यावहारिक सहयोग र सहकार्यलाई अझ अघि बढाउनुपर्नेमा विशेष जोड दिएका छन् ।

बंगालको खाडीको प्रयास (बिमस्टेक) का सात सदस्य राष्ट्रहरू नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरूको यो पहिलो औपचारिक बैठक हो ।

बैठकमा क्षेत्रीय सुरक्षा सुदृढीकरण, गुप्तचर सूचनाको आदान-प्रदान, लागूऔषध तथा मानव बेचबिखन नियन्त्रण र साइबर अपराधजस्ता साझा चुनौतीहरूमा एकीकृत रणनीति बनाएर अघि बढ्ने विषयमा छलफल भएको छ ।

गृहमन्त्रीका रूपमा पदभार सम्हालेपछिको यो पहिलो औपचारिक भारत भ्रमण भएकाले पनि यस भेटवार्ताले नेपाल र भारतबीचको द्विपक्षीय सुरक्षा संयन्त्र तथा गृह प्रशासन तहको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

advertisement_1676998982.gif