राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८३ असार २६, काठमाडौँ । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी निधन भएका गणेश नेपालीको घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय समिति गठन गरेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री सुधन गुरुङले घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । मन्त्री गुरुङले समितिलाई घटनाको सम्पूर्ण पाटोको गहिरो अध्ययन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको स्पष्ट पारे ।
यसैगरी, घटनामा संलग्न रहेको आशंकामा काठमाडौं महानगरपालिकाका तीन जना नगर प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुने भन्दै दोषी ठहरिने जो–कोहीलाई पनि कानुनको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पार्किङ गरिएको मोटरसाइकलमा महानगर प्रहरीले ‘ह्विल लक’ लगाइदिएपछि विवाद उत्पन्न भएको थियो । सोही क्रममा मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।