राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८२ माघ २०, नवलपरासी । प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुने बताएकी छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपश्चात् प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरूसँगको कुराकानीमा भनिन्, ‘निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौं ।’
कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा निर्वाचन गराउनेतर्फ सोच्न सकिने बताइन् ।
अहिलेसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयले नै प्रवेश नपाएकाले ढुक्कका साथ आगामी फागुन २१ गतेको निर्वाचनमा जुट्न उनले आग्रह गरिन् । समयमै निर्वाचन सम्पन्न गरेर नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देश नयाँ दिशातर्फ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले बताइन् ।
‘शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन हामीले शत प्रतिशत प्रयास गरेका छौं, निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ,’ उनले भनिन् । विशेष परिस्थितमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती आइपरे पनि समाधान गरेर निर्वाचन गराइने प्रधानमन्त्री कार्कीले बताइन् ।