राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असोज ०६ काठमाडौँ I संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षमा कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले बिदाइ गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बिदाइ समारोहमा कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री वाग्लेले यात्राका क्रममा अध्ययनका लागि प्रधानमन्त्री शाहलाई पल केनेडीद्वारा लिखित चर्चित पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’ हस्तान्तरण गरे ।
प्रधानमन्त्री शाह आजै साँझ ७:०० बजेको उडानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका छन्। उनले असोज ८ गते (सेप्टेम्बर २४) संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्नेछन् भने असोज १० गते स्वदेश फर्किने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्रीको अनुपस्थितिमा उनले सम्हाल्दै आएको रक्षा मन्त्रालयको कार्यभार पनि स्वतः अर्थमन्त्री वाग्लेमै सरेको छ ।
यसै गरी, महासभामा भाग लिन अगावै अमेरिका प्रस्थान गरिसकेका परराष्ट्र मन्त्री शिशिर खनालको अनुपस्थितिमा सो मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री शाहले साेमबार नै अर्थमन्त्री वाग्लेलाई नै तोकेका थिए । योसँगै कार्यवाहक प्रधानमन्त्री वाग्लेले अर्थ, रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।