राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असोज ०६ काठमाडौँ I नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिइएको माफीमिनाहा निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा चौधरीलाई दिइएको माफीमिनाहा असंवैधानिक भएको दाबी गर्दै दायर गरिएको रिट निवेदनलाई सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।
न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले मङ्गलबार उक्त रिट निवेदन खारेज गर्ने फैसला सुनाएको हो । २०७२ सालको टीकापुर काण्डमा सर्वोच्च अदालतबाटै जन्मकैदको सजाय ठहर भएका चौधरीलाई तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका अवसरमा बाँकी कैद मिनाहा गरी छाड्ने निर्णय गरेका थिए ।
उक्त माफीमिनाहाको निर्णय गैरकानुनी र पीडितको न्याय पाउने अधिकारको विपरीत रहेको भन्दै टीकापुर घटनाका मृतक इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायत बोहराले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सर्वोच्चले सो रिट खारेज गरेसँगै सरकार र राष्ट्रपतिबाट भएको माफीमिनाहाको निर्णयले कानुनी वैधता पाएको छ ।