राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २२ पुष, २०८२
२०८२ पुष २२, काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत प्रदीप परियारलसहित सात जना भ्रष्टाचार अभियोगबाट विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । मंगलबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले परियारलसहित सात जनालाई सफाइ दिएको हो ।
महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदा ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित सातजनाविरुद्ध गत जेठ २८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
आयोगले सातै जनाविरुद्ध जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजायको माग दाबी गरेको थियो ।
न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अख्तियारले दाबी गरेको बिगो, बदनियत र सार्वजनिक सम्पत्तिमा हानि पुगेको भन्ने अभियोग पुष्टि हुने पर्याप्त प्रमाण पेश हुन नसकेको निष्कर्ष निकालेको छ । सोही आधारमा परियारसहित सबै प्रतिवादीहरूलाई आरोप दाबीबाट सफाइ दिएको फैसलामा उल्लेख छ ।
अदालतले प्रस्तुत मुद्दामा निर्णय गर्दा बोलपत्र आह्वानदेखि मूल्याङ्कन, सम्झौता र कार्यान्वयनसम्मका प्रक्रियामा नियमानुसार काम भएको देखिएको र कानुनले दण्डनीय ठहर गर्ने स्पष्ट आधार नदेखिएको निष्कर्ष निकालेको जनाएको छ ।