राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ असार ०१, काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा सोमबार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकारलाई केही साँघुरो बनाएको छ । गत आर्थिक वर्ष २०८२/०८३ मा ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले यसपटक करिब १ अर्ब ५२ करोड ५५ लाख रुपैयाँ कम बजेट विनियोजन गरेको हो ।
प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ, जसले प्रदेशको भौतिक पूर्वाधार निर्माणलाई गति दिने अपेक्षा गरिएको छ । त्यस्तै, चालु खर्चका लागि ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ छुट्याइएको छ । वित्तीय व्यवस्थातर्फको रकमसमेत समावेश गरी कुल बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ कायम गरिएको हो ।
बजेट प्रस्तुत गर्दै मन्त्री कार्कीले प्रदेशको समग्र विकासका लागि पूर्वाधार निर्माण, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए । साथै, प्रदेशमा रोजगारीका अवसर सिर्जना गर्दै आर्थिक उत्पादन अभिवृद्धि गर्ने सरकारी योजना रहेको उनको भनाइ छ ।
सीमित स्रोत र साधनका बाबजुद नागरिकको जीवनस्तर उकास्ने र विकासका अधुरा कामलाई पूर्णता दिने लक्ष्यसहित प्रदेश सरकारले नयाँ बजेट सार्वजनिक गरेको हो ।