सोमबार, १ असार, २०८३

मधेश प्रदेश सरकारद्वारा ४१ अर्ब १३ करोडको बजेट सार्वजनिक: प्राथमिकतामा कृषि, शिक्षा र पूर्वाधार

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

मधेश प्रदेश सरकारद्वारा ४१ अर्ब १३ करोडको बजेट सार्वजनिक: प्राथमिकतामा कृषि, शिक्षा र पूर्वाधार

२०८३ असार ०१, जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभाको बैठकमा सोमबार अर्थमन्त्री युवराज भट्टराईले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

सरकारले प्रस्तुत गरेको बजेटमा चालु खर्चभन्दा पुँजीगत खर्चलाई बढी प्राथमिकता दिइएको छ । कुल बजेटमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार अर्थात् ३५.५४ प्रतिशत र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार अर्थात् ६४.३५ प्रतिशत बजेट विनियोजन गरिएको छ । बजेटले विशेष गरी कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र वन क्षेत्रको सुधारलाई मुख्य प्राथमिकतामा राखेको छ ।

बजेटको स्रोत व्यवस्थापनका सम्बन्धमा अर्थमन्त्री भट्टराईले आन्तरिक स्रोत तथा राजश्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ बेहोरिने प्रस्ताव गरेका छन् । त्यसैगरी, संघीय सरकारबाट राजश्व बाँडफाँटमार्फत १२ अर्ब ८३ करोड र वित्तीय अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ प्राप्त हुने सरकारको अनुमान छ । बजेटमा चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ उपयोग गरिने उल्लेख छ भने अपुग रकम पूर्ति गर्न एक अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाइने अर्थमन्त्रीले जनाएका छन् ।

संघीय सरकारबाट प्राप्त हुने अनुदानको संरचनामा वित्तीय समानीकरण अनुदानतर्फ ७ अर्ब ८४ करोड ८५ लाख, सशर्त अनुदानतर्फ ८ अर्ब १० करोड २८ लाख, समपूरक अनुदानबाट ९४ करोड ७४ लाख र विशेष अनुदानबाट ७० करोड गरी कुल १७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने सरकारी प्रक्षेपण रहेको छ ।

Download the PDF
advertisement_1676553851.gif