बिहीबार, ७ श्रावण, २०८३

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८औं स्मृति दिवस आज मनाइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८औं स्मृति दिवस आज मनाइँदै

२०८३ साउन ०७, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालका विभिन्न कम्युनिस्ट घटकहरू, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीलगायतका राजनीतिक दलहरूले विचार गोष्ठी, श्रद्धाञ्जली सभा तथा विविध रचनात्मक कार्यक्रमको आयोजना गरी पुष्पलालको योगदानको स्मरण गर्दै दिवस मनाउन लागेका हुन् ।

विक्रम संवत् १९८१ असार १५ गते रामेछापको भँगेरीमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मनुभएका पुष्पलाल सहिद गंगालाल श्रेष्ठका भाइ हुन् ।

उनले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित प्रसिद्ध ‘कम्युनिस्ट मेनिफेस्टो’ (कम्युनिस्ट घोषणापत्र) को पहिलो पटक नेपालीमा अनुवाद गरी नेपालमा साम्यवादी विचारको जग बसालेका थिए। यसका साथै आफ्ना विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गर्दै प्रगतिशील रूपान्तरणको दिशा निर्देश गरेका थिए ।

पुष्पलालले निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर विक्रम संवत् २००६ वैशाख १० (सन् १९४९ अप्रिल २२) मा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।

नेकपा गठन गर्नुअघि उनले विक्रम संवत् १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघको समेत गठन गरेका थिए ।

उनले निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि नेपाली कांग्रेसलगायतका प्रजातान्त्रिक शक्तिहरूसँग मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्छ भन्ने दूरदर्शी राजनीतिक अवधारणा अघि सार्नुभएको थियो, जुन पछि २०४६ सालको आन्दोलनको जग बन्यो ।

प्रवासमा रहेर निरन्तर कम्युनिस्ट आन्दोलनलाई नेतृत्व प्रदान गरेका पुष्पलालको विक्रम संवत् २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

उनको ४८औँ स्मृति दिवसको अवसरमा आज नेकपा (एमाले) बागमती प्रदेश कमिटीका साथै अन्य वामपन्थी दल तथा भ्रातृ संगठनहरूले राजधानी र देशका विभिन्न स्थानमा विशेष कार्यक्रमहरूको आयोजना गरेका छन् ।

advertisement_1676553851.gif