मंगलवार, ५ फाल्गुन, २०८२

निर्वाचनका लागि ६७१ उम्मेदवारले मात्रै खोले बैंक खाता

राष्ट्रिय सन्‍देश संबाददाता, १६ घण्टा पहिले

निर्वाचनका लागि ६७१ उम्मेदवारले मात्रै खोले बैंक खाता

२०८२ फागुन ०४, काठमाडौं । निर्वाचन प्रचारप्रसारका लागि आवश्यक रकम खर्च गर्न हालसम्म ६७१ उमेदवारले मात्रै बैंक खाता खोलेका छन् ।

कुल ३ हजार ४०६ उमेदवारमध्ये ६७१ जनाले बैंक खाता खोलेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यो कुल उमेदवारको करिब २० प्रतिशत हो ।

‘बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूले हालसम्म दिएको तथ्यांकअनुसार कुल ३ हजार ४०६ जना उमेदवारहरूमध्ये ६७१ जनाले बैंकहरूमा खाता खोलिसक्नुभएको छ,’ भट्टराईले भने, ‘त्यो संख्या भनेको करिब २० प्रतिशत हुन आउँछ ।,’

राजनीतिक दल तथा उमेदवारहरूले प्रचारप्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ । प्रवक्ता भट्टराईका अनुसार, आयोगको अनुरोधमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उमेदवारहरूको बैंक खाता खोल्न सहजीकरण गर्न परिपत्र जारी गरेको छ ।

हाल देशभर राजनीतिक दल र उमेदवारहरूले बैंक खाता खोल्ने प्रक्रिया अघि बढाएको भट्टराईले जानकारी दिए ।

advertisement_1676553851.gif