राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ जेष्ठ १३, काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेको आर्थिक अनियमितताको आरोपबारे छानबिन गर्न गठित समितिले उनीसँग बयान लिन सुरु गरेको छ । छानबिन समितिले बुधबार गुरुङलाई बोलाएर प्रारम्भिक सोधपुछ गरेको हो ।
दीपक भट्टको स्वामित्वमा रहेका ‘लिबर्टी माइक्रो इन्स्योरेन्स’ र ‘स्टार माइक्रो इन्स्योरेन्स’ को संस्थापक सेयर खरिद गरेको विषयमा गुरुङसँग बयान लिइएको समितिका एक सदस्यले जानकारी दिए । “हामीले उहाँलाई बोलाएर प्रारम्भिक सोधपुछ गरेका छौँ, बयान अझै पूर्ण रूपमा सकिएको छैन,” ती सदस्यले भने ।
भट्टको कम्पनीमा गुरुङको नाममा ५० लाख रुपैयाँ बराबरको सेयर फेला परेपछि र सो रकमको स्रोतमाथि प्रश्न उठेपछि उनले गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । गुरुङले भने आफूले सापटी लिएर उक्त सेयर किनेको दाबी गर्दै आएका छन् । समितिले अनुसन्धान नसकिएकाले गुरुङलाई जुनसुकै बेला पुनः बयानका लागि बोलाउन सकिने जानकारी गराएको छ ।
मन्त्रिपरिषद्को गत वैशाख २८ गतेको बैठकले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। १५ दिनको कार्यअवधि तोकिएको समितिले आफ्नो छानबिन अन्तिम चरणमा पुगेको दाबी गरेको छ ।
भण्डारी नेतृत्वको समितिमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह-न्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका छन् ।