राष्ट्रिय सन्देश संबाददाता, १६ घण्टा पहिले
२०८३ असार २२, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक सोमबार बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकमा विभिन्न मन्त्रालयका महत्त्वपूर्ण विधेयकहरू र अन्तर्राष्ट्रिय महासन्धीमाथिका प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । अनुमति पाएसँगै मन्त्री गौतमले उक्त विधेयक सदनमा प्रस्तुत गर्नेछिन् ।
यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडग राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
यसै बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै, मन्त्री यादवले नै ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) माथि विचार गरियोस्’ भन्ने अर्को प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।