मंगलवार, २३ असार, २०८३

संघीयता र धर्मनिरपेक्षतामाथि छेडखानी गरिए प्रतिवाद गर्ने श्रम संस्कृति पार्टीको चेतावनी

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

संघीयता र धर्मनिरपेक्षतामाथि छेडखानी गरिए प्रतिवाद गर्ने श्रम संस्कृति पार्टीको चेतावनी

२०८३ असार २२, काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता मूलभूत व्यवस्थामाथि हस्तक्षेप गर्न खोजिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रदेश खारेजीको विषयलाई अगाडि सारेर संविधानका आधारभूत सिद्धान्तहरूमाथि छेडछाड गर्न खोज्नु वर्तमान सरकारको दुष्साहस हुने टिप्पणी गरे ।

संसद्‍मा आफ्नो धारणा राख्दै सांसद राईले संविधान संशोधन नै गर्ने हो भने उत्पीडित र पछाडि पारिएका समुदायको अधिकार सुनिश्चितताका लागि गरिनुपर्ने जोड दिए ।

उनले हाल संविधानमा व्यवस्था गरिएको एक-तिहाइ महिला प्रतिनिधित्वको अधिकारलाई बढाएर ५० प्रतिशत पुर्‍याउनुपर्ने माग गरे ।

यसका साथै आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारू, मजदुर, विद्यार्थी तथा अन्य सीमान्तकृत समुदायको अधिकार कहाँ-कहाँ कुण्ठित गरिएको छ, ती विषयहरूको गम्भीर पुनर्विचार गरेर मात्र संविधान संशोधन गरिनुपर्ने उनको भनाइ थियो ।

सांसद राईले संविधान संशोधनको आवरणमा लोकतान्त्रिक व्यवस्था र सङ्घीय ढाँचालाई कमजोर बनाउने प्रयास गरिए त्यो कदापि स्वीकार्य नहुने स्पष्ट पारे । उनले यदि शासकहरूले लोकतन्त्रमाथि छेडखानी गर्ने दुस्प्रयास गरेमा सिंहदरबारमा बस्नेहरूका विरुद्ध कडा विरोध र आन्दोलन ओर्लिने चेतावनी समेत दिए ।

advertisement_1676553851.gif