राष्ट्रिय सन्देश संबाददाता, १६ घण्टा पहिले
२०८३ असार २४, काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संसद् सचिवालयका अनुसार बैठक बुधबार बिहान ११ बजेका लागि तय गरिएको हो ।
आजको बैठकमा विभिन्न वार्षिक प्रतिवेदनहरू पेस गर्ने र नयाँ विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/०८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैँतीसौँ वार्षिक प्रतिवेदन २०८१/०८२ बैठकमा पेस गर्नेछिन् ।
यसैगरी व्यवस्थापन कार्यअन्तर्गत प्रधानमन्त्रीकै तर्फबाट कानुनमन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् र स्वीकृत भएपश्चात् उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यतालिका छ । बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिनेछ ।
बैठकको कार्यसूचीमा विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्तावहरू पनि समावेश छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकसमक्ष प्रस्तुत गर्नेछन् ।