बुधबार, १७ भाद्र, २०८३

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ भदौ १७ काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे सिंहदरबारमा बस्दैछ ।

आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा सभामुख अर्यालले बाढीका कारण भएको व्यापक जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्ने कार्यक्रम छ ।

संसद् सचिवालयले उपलब्ध गराएको विशेष प्रस्ताव अनुसार, गत भदौ १० गते आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

बैठकले बाढीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नेछ । साथै, घटनामा घरबारविहीन भएकाहरूको शीघ्र व्यवस्थापन तथा घाइतेहरूको उपचारको कामना गर्ने तयारी गरिएको छ ।

यसैबीच, आजै दुई संसदीय समितिका बैठकहरू पनि बस्दैछन् । बिहान ९:३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेको असरबारे छलफल हुनेछ ।

त्यसैगरी, अपराह्न १२:१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

advertisement_1676551694.gif