राष्ट्रिय सन्देश संबाददाता, १३ घण्टा पहिले
२०८३ भदौ १६ काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित देशका छ प्रमुख विश्वविद्यालयमा नयाँ शिक्षाध्यक्ष (रेक्टर) तथा रजिस्ट्रार नियुक्त गरेको छ । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूको सिफारिसका आधारमा ती पदाधिकारीहरूलाई नियुक्त गरेका हुन् । लामो समयदेखि रिक्त रहेका पदहरूमा नियुक्ति भएसँगै विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक गतिविधिले गति लिने अपेक्षा गरिएको छ ।
नयाँ नियुक्तिअनुसार मुलुकको सबैभन्दा पुराना र ठूलो त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा.डा. अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी चयन भएका छन् । नवनियुक्त शिक्षाध्यक्ष सिंह त्रिविको विज्ञान संकायकी प्राध्यापक हुन् भने रजिस्ट्रार शिवाकोटी शिक्षा शास्त्र संकायका प्राध्यापक हुन्। दुवै जना लामो समयदेखि प्राध्यापन तथा शैक्षिक अध्ययन-अनुसन्धानमा सक्रिय रहँदै आएका छन् ।
यसैगरी, अन्य प्रदेश तथा क्षेत्रीय विश्वविद्यालयहरूमा पनि रजिस्ट्रार पदको जिम्मेवारी तोकिएको छ। पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्रा.डा. पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्रा.डा. निर्मला जमरकट्टेल तथा सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा प्रा.डा. तारादत्त भट्ट नियुक्त भएका छन् । मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा. सुदिप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा. जीवन काफ्ले नियुक्त भएका छन् ।
नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारहरूले आजै शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधार तथा सर्वाङ्गीण विकासका लागि टिमवर्क र प्रभावकारी समन्वयका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिए । उनले उच्च शिक्षा सुधारका लागि उपकुलपति, रजिस्ट्रारलगायत विश्वविद्यालयका पदाधिकारीबीच बलियो सहकार्य आवश्यक रहेको बताए ।
मन्त्री पोखरेलले विश्वविद्यालयलाई उत्कृष्ट र अनुसन्धानमुखी संस्थाका रूपमा विकास गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्रालयबाट आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे ।