राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२०८३ असोज १६ काठमाडौँ I प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन भएको छ। गत वैशाख २८ गतेदेखि शुरु भएको अधिवेशनमा ६८ वटा बैठक बसेको थियो ।
अधिवेशनको समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले संसदले यस अवधिमा १२ वटा विधेयक पारित गरेको जानकारी गराएका छन् ।
गत वैशाख २८ गते सुरू भएको प्रतिनिधि सभाको दोस्रो अधिवेशन असोज १६ गतेसम्म १४५ दिन चलेको यो अधिवेशनमा ६२ दिनमा ६८ पटक बैठक बसेको थियो ।
संसदले आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ र सम्पती शुद्धीकरण निवारण तेस्रो संशोधनलगायतका १२ वटा महत्वपूर्ण विधेयक पारित गरेको छ । जसमध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् । यसबाहेक २० वटा विधेयक विभिन्न समितिमा विचाराधीन छन् भने केही थप विधेयकहरू प्रक्रियामा रहेका छन् ।
यस अधिवेशनले हिमालमा जलवायु परिवर्तनको प्रभाव,जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय विशेष संसदीय समिति गठन गरेको छ । त्यस्तै यस अधिवेशनले बजेट पारित गरेको थियो ।
सभामुख अर्यालले संसद्ले कानुन निर्माणसँगै जनसरोकारका विषय, विपद् व्यवस्थापन तथा समसामयिक राष्ट्रिय मुद्दामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको साथै युवा सांसदहरुले राखेको तार्किक विचार र प्रस्तुतिले संसदीय अभ्यासमा योगदान पुगेको बताएका थिए ।