आईतवार, १० कार्तिक, २०८२

राजदूत फिर्ता गर्ने निर्णयमा सरकारलाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

राजदूत फिर्ता गर्ने निर्णयमा सरकारलाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

२०८२ कार्तिक ९, काठमाडौं । सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने निर्णयसहित सरकारलाई अदालत उपस्थित हुन आदेश दिएको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारलाई राजदूत फिर्ताको विषयमा अन्तरिम आदेशबारे सुनुवाइका लागि कार्त्तिक १४ गते अदालत उपस्थित गराउन आदेश दिएको हो ।

राजदूत फिर्ताको निर्णय लिइएको बारे स्पष्ट पार्न सरकारलाई झिकाइएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। ‘यसमा के कसो भएको हो ?  निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सोको आधार कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत् लिखित जवाफ लिइ आउनुहोला होला,’ आदेशमा भनिएको छ ।

अन्तरिम सरकारले विभिन्न ११ देशका राजदूतलाई २० कात्तिकसम्म फिर्ता हुन निर्देशन दिएको थियो । असोज ३० गते बसेको मन्त्रिपरिषद बैठकले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको थियो ।

सरकारले फिर्ता बेलाएका राजदूतहरुमा चीनका प्रा.डा. कृष्णप्रसाद ओली, जर्मनीका डा. शैल रुपाखेती, इजरायलका प्रा. धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्य बेलायतका चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा. दुर्गाबहादुर सुवेदी छन्  ।

advertisement_1744958411.jpg