राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ कार्तिक १६ काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र नेपाल भ्रमणमा रहनुभएका स्विट्जरल्यान्डको नेशनल काउन्सिलका सम्माननीय अध्यक्ष पियरे आन्द्रे पाजबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा आज (सोमबार) भएको भेटमा दुई देशबीचको आपसी हित, संसदीय सम्बन्ध विस्तार, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा विकास सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।
द्विपक्षीय भेटमा अध्यक्ष दाहालले नेपाल-स्विस संसदीय मैत्री समूह गठन भएको जानकारी गराउँदै मैत्री समूहमार्फत दुवै देशबीच संसदीय अभ्यास, अनुभव आदानप्रदानका साथै सहकार्य विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले स्विस संसदीय नेतृत्वको यस भ्रमणले दुई देशबीचको मित्रता र संसदीय सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।
नेपालको संसदीय अभ्यासलाई थप सुदृढ बनाउन स्विट्जरल्यान्डको सूचना प्रविधि, नवीन विधायिकी अभ्यास, प्राविधिक सहयोग र उत्कृष्ट अभ्यासबाट सिक्न आफूहरू इच्छुक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले प्रत्यक्ष लोकतन्त्र र सङ्घीयताको अभ्यासमा स्विट्जरल्यान्डको अनुभव नेपालका लागि उपयोगी हुने बताए ।
रसुवा-भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि स्विट्जरल्यान्डले उपलब्ध गराएको मानवीय सहायताप्रति धन्यवाद दिँदै अध्यक्ष दाहालले जलवायु न्याय, जलवायु वित्तमा सहज पहुँच र संवेदनशील राष्ट्रहरूको हित संरक्षणका लागि स्विट्जरल्यान्डसँग सहकार्यको अपेक्षा गरे ।
जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणलाई दुई देशको साझा सरोकारका रूपमा प्रस्तुत गर्दै अध्यक्ष दाहालले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि यसको असरबाट बढी प्रभावित हुनुपरेको बताए ।
प्रत्यक्ष लोकतन्त्र र सङ्घीयताको अभ्यासमा स्विट्जरल्यान्ड सफल उदाहरण रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालले स्विस अनुभवबाट सिक्न चाहेको बताए । उनले भने, “नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अझ सुदृढ बनाउन संघ, प्रदेश र स्थानीय तहका लोकतान्त्रिक संस्थाहरूको क्षमता तथा प्रभावकारिता अभिवृद्धिमा सहकार्यको अपेक्षा गरेका छौँ।”
सो अवसरमा स्विट्जरल्यान्डको नेशनल काउन्सिलका सम्माननीय अध्यक्ष पियरे आन्द्रे पाजले नेपाल भ्रमण गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै आफूहरूले संसदीय सहकार्यलाई प्राथमिकतामा राखेको बताए ।
नेपाल र स्विट्जरल्यान्डबीचको सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष पाजले दुई देशबीचको पारस्परिक सम्मान र विश्वासमा आधारित मित्रताको उत्सव मनाउन पाउँदा हर्षित भएको बताए । नेपालको संसदले संसदीय मैत्री समूह गठन गरिसकेको थाहा पाउँदा आफूलाई खुसी लागेको बताउँदै उहाँले आफूहरूले पनि छिट्टै संसदीय मैत्री समूह गठन गर्ने बताउनु भयो।
नेपाल र स्वीट्जरल्याण्ड हिमाली देश भएको र धेरै विषय समान रहेको उल्लेख गर्दै अध्यक्ष पाजले आपसी सहयोग र सहकार्य आदान प्रदान गर्न सदैव तयार रहेको बताए ।