राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ कार्तिक १६ काठमाडौँ । विपक्षी राजनीतिक दलहरूले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलहरूको संयुक्त बैठकले मुलुकका समसामयिक राजनीतिक, कानुनी तथा प्रशासनिक विषयहरूमाथि छलफल गर्न संसद् बैठक अविलम्ब बोलाउनुपर्ने निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बेका अनुसार अनुसार सरकारका विवादित कदम, प्रशासनिक तथा न्यायिक क्षेत्रमा देखिएका अन्योल र राष्ट्रिय सरोकारका मुद्दामाथि संसद्मा गहन छलफल हुनुपर्ने भन्दै विपक्षी मोर्चाले संसद् अधिवेशन आह्वानको माग गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्त र प्रमुख सचेतक बासना थापाको उपस्थिति रहेको थियो ।
यस्तै, नेकपा एमालेका तर्फबाट संसदीय दलकी उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल सहभागी थिए । बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु ओली लगायतका शीर्ष नेताहरूको सहभागिता रहेको थियो ।