बिहीबार, ३१ बैशाख, २०८३

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

२०८३ बैशाख ३१, काठमाडौं । राष्ट्रिय सभाले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. वाग्लेले नीति तथा कार्यक्रममाथि केन्द्रित रहेर उठेका जिज्ञासामाथि प्रस्ट पारेका थिए । उनले सरकारको कार्यदिशा सुशासन र आर्थिक समृद्धितर्फ लक्षित रहेको दाबी गरे ।

नीति तथा कार्यक्रममाथि सदस्यहरूले राखेका संशोधन प्रस्तावहरूलाई बैठकले निर्णयार्थ प्रस्तुत गर्दा ती प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । तर, बैठकमा नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिएकोमा बहुमतले पारित गरिएको छ ।

नीति तथा कार्यक्रम पारित भएसँगै अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षका लागि ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता’ पेस गरेका थिए ।

बजेट आउनुपूर्व सदनमा यसका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने संवैधानिक परम्परा अनुसार उक्त प्रस्ताव पेस गरिएको हो। अब राष्ट्रिय सभाका सदस्यहरूले सरकारले लिने आगामी आर्थिक नीतिका प्राथमिकतामाथि आफ्नो धारणा राख्नेछन् ।

advertisement_1676551537.gif