राष्ट्रिय सन्देश संबाददाता, १८ घण्टा पहिले
२०८३ असोज १ काठमाडौँ I अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन् ।
राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त राईले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
प्रतिवेदन पेस गर्दै प्रमुख आयुक्त राईले आर्थिक वर्ष २०८२/८३ मा आयोगले सम्पादन गरेका प्रमुख काम कारवाही संक्षिप्तरुपमा प्रस्तुत गर्दै भ्रष्टाचारको स्वरुप, प्रवृत्ति र शैली समयानुकूल परिवर्तन हुँदै गइरहेको सन्दर्भमा यसलाई प्रभावकारीरुपमा नियन्त्रण गर्न आयोग आफैँ पनि निरन्तररुपमा संस्थागत, प्राविधिक र कार्यविधिगत दृष्टिले परिमार्जित हुँदै गएको जिकिर गरेका थिए ।
आयुक्त राईका अनुसार एक वर्षमा ३३ हजार ५२९ वटा उजुरी दर्ता भएका छन्। अघिल्लो वर्षबाट सरेका ७ हजार ३२३ सहित कुल ४० हजार ८४२ उजुरीमध्ये ३२ हजार ८२३ अर्थात् ८०.३७ प्रतिशत फस्र्योट गरिएको छ ।
सबैभन्दा धेरै स्थानीय तहसँग सम्बन्धित २० हजार २५ वटा उजुरी परेको आयोगले जनाएको छ । यस्तै, विस्तृत अनुसन्धानपछि १७५ वटा मुद्दा विशेष अदालतमा दायर गरिएको छ, जसमा २५ अर्ब २३ करोड ६५ लाख ९७ हजार ९८९ रुपैयाँ ८२ पैसा बिगो मागदाबी गरिएको छ ।
प्रमुख आयुक्त राईले भ्रष्टाचारको स्वरूप परिवर्तन हुँदै गएको भन्दै अनुसन्धानलाई वैज्ञानिक, प्रविधिमैत्री र नतिजामुखी बनाउन डिजिटल फरेन्सिकलगायत आधुनिक प्रविधिको प्रयोग बढाइएको बताए । आयोगले तीनै तहका सरकारसहित सबै पक्षको सहकार्यबाट भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ ।
उनले अनुसन्धान प्रक्रियालाई थप वैज्ञानिक र नतिजामुखी बनाउने क्रममा आयोगले जोखिमयुक्त क्षेत्र पहिचान पूर्वसक्रिय अनुसन्धान प्रणाली, डिजिटल फरेन्सिक लगायत अत्याधुनिक विधि र प्रविधिको उपयोग बढाइएको, अनुसन्धान अधिकृतहरुको व्यावसायिक दक्षता अभिवृद्धिका लागि नियमित तालिम, विशिष्टिकृत क्षमता विकास कार्यत्रम तथा अन्तर्राष्ट्रिय अभ्यासहरुको आदानप्रदान गरिएको बताए ।
नेपालको संविधान तथा प्रचलित कानुनी व्यवस्थाअनुसार अख्तियारले प्रत्येक आर्थिक वर्षमा आफूले सम्पादन गरेका कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने व्यवस्था छ ।