राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ जेष्ठ १, शुक्रबार काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल को-अपरेटिभका ऋणीहरूमाथि कडाइ सुरु गरेको छ ।
कार्यालयले सो सहकारीबाट ऋण लिएर लामो समयसम्म चुक्ता नगर्ने २ सय ८४ जना ऋणीहरूको तीनपुस्ते विवरणसहितको नामावली सार्वजनिक गरेको हो । समस्याग्रस्त घोषित यस सहकारीको सम्पत्ति व्यवस्थापन र दायित्व फरफारक गर्ने प्रक्रिया अन्तर्गत ऋणीहरूलाई अन्तिम मौका दिँदै नामावली सार्वजनिक गरिएको समितिले जनाएको छ ।
समितिको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै ती सबै ऋणीहरूलाई यथाशीघ्र आफूले लिएको ऋणको साँवा र ब्याज चुक्ता गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र ऋण राफसाफ नगरेमा कानुन बमोजिम कडा कारबाही अघि बढाइने र सरकारी बाँकी सरह असुल उपर गरिने चेतावनी समेत दिइएको छ ।
लामो समयदेखि निक्षेपकर्ताको बचत फिर्ता हुन नसकिरहेको अवस्थामा ऋणीहरूबाट रकम संकलन गरेर बचतकर्ताको रकम फिर्ता गर्ने योजना अनुरूप समितिले यो कदम चालेको हो । यस प्रक्रियाले सहकारीका पीडित बचतकर्ताहरूमा केही आशा जगाएको छ भने ऋण लिएर नतिर्नेहरूमाथि कानुनी दबाब बढेको छ ।