राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २ आश्विन, २०८२
२०८२ असोज २, काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० दिनपछि सार्वजनिक भएका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ओली बाहिर आएको जानकारी दिएका हुन् ।
जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली १० दिनपछि बाहिर आएका हुन् ।
बालकोटको घर जलेकाले ओली गुण्डु सरेका छन् । ओलीको भक्तपुर, बालकोटस्थित घर क्षतिग्रस्त भएका कारण उनका लागि सूर्यविनायककाे गुण्डुमा एक घर बहालमा लिइएको बताइएको छ । महेश बस्नेतले ओलीको डेराेकाे बस्दाेबस्त गरेका हुन् ।
अध्यक्ष ओलीको बालकोटस्थिति निवास भने जेन-जी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको छ। गत भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका ओली त्यसयता सैनिक ब्यारेकमा बस्दै आएका थिए । भदौ २३ गते जेनजीले सामाजिक सञ्जाल खुला गर्न र भ्रष्टाचारविरुद्ध भन्दै काठमाडौँसहित देशभर प्रदर्शन गरेको थियो । उक्त दिनको प्रदर्शन हिंसात्मक भएको थियो ।
आन्दोलनपछि पनि राजीनामा नदिई आनाकानी गर्दै प्रहरी खटाएर पेल्ने रणनीति लिएका ओली २४ गते आन्दोलनकारीले बालुवाटार घेरेपछि सेनाको हेलिकप्टरमा भाग्न बाध्य भएका थिए ।