सोमबार, ११ फाल्गुन, २०८२

स्थानीय तहका पदाधिकारीलाई चुनाव प्रचारमा सहभागी नहुन आयोगको निर्देशन

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

स्थानीय तहका पदाधिकारीलाई चुनाव प्रचारमा सहभागी नहुन आयोगको निर्देशन

२०८२ फागुन १०, काठमाडौंं । निर्वाचन आयोग, नेपालले स्थानीय कार्यपालिकाका पदाधिकारीलाई निर्वाचन आचारसंहिता विपरीत हुने गरी चुनाव प्रचार–प्रसारमा सहभागी नहुन चेतावनी दिएको छ ।

आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०८२ लागू गरिएको र यसको पूर्ण पालना गर्न सबै पक्षलाई निर्देशन दिएको जनाएको छ ।

आयोगका अनुसार केही स्थानीय तहका जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसारमा संलग्न भएको भन्ने उजुरी तथा गुनासो प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको हो ।

आचारसंहिताअनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा राजनीतिक दल वा उम्मेदवारको चुनाव प्रचारमा संलग्न हुन नपाउने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ। साथै, प्रचार–प्रसारमा संलग्न हुँदा सरकारी स्रोत–साधन प्रयोग गर्नसमेत नपाइने उल्लेख गरिएको छ ।

"निर्वाचन आचारसंहिताको दफा ५ को खण्ड (क) को प्रतिबन्धात्मक वाक्यांशको बुँदा नम्बर (४) माूस्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था रहेको र सोही दफाको खण्ड (ख) ले त्यसरी निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने भन्ने व्यवस्था गरेको हुँदा कुनै पनि स्थानीय कार्यपालिकाका पदाधिकारीले यस व्यवस्थाको अधीनमा रही मात्र निर्वाचन प्रचारप्रसारमा सहभागी हुन सक्ने देखिन्छ," आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

advertisement_1676553908.gif