शुक्रबार, २२ जेष्ठ, २०८३

सुधन गुरुङमाथिको छानबिन पूरा: छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

सुधन गुरुङमाथिको छानबिन पूरा: छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

२०८३ जेष्ठ २२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको सत्यतथ्य छानबिन गर्न गठित समितिले आफ्नो काम सम्पन्न गरी प्रतिवेदन सरकारलाई बुझाएको छ ।

छानबिन समितिका संयोजक एवं उच्च अदालतका पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले प्रक्रियागत रूपमा सबै अनुसन्धान सकेर तयार पारिएको ४५ पृष्ठ लामो विस्तृत प्रतिवेदन प्रधानमन्त्री बालेन शाहसमक्ष पेस गरेका हुन् ।

यसअघि मन्त्रिपरिषद्को गत वैशाख २८ गतेको बैठकले पूर्वन्यायाधीश भण्डारीको अध्यक्षतामा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

समितिले पूर्वगृहमन्त्री गुरुङलाई नै उपस्थित गराएर लिइएको बयानलाई मात्र आधार नबनाई उनीमाथि लागेका आरोपहरूसँग सम्बन्धित विभिन्न क्षेत्रका अधिकारीहरूसँग सोधपुछ गरेको थियो ।

अनुसन्धानका क्रममा समितिले गुरुङको आर्थिक कारोबार र सम्पत्ति विवरणलाई समेत सुक्ष्म ढङ्गले केलाएर गहन अध्ययन गरेको बताएको छ । छानबिन समितिले आफ्नो काम सुरु गरेको झण्डै तीन हप्तापछि यो प्रतिवेदन बुझाएको हो ।

सुधन गुरुङ विवादमा तानिनुको मुख्य कडी सम्पत्ति शुद्धीकरणको कसुरमा गत चैत १९ गते काठमाडौंबाट पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएको थियो ।

हाल प्रहरी हिरासतमै रहेका व्यवसायी भट्टको कम्पनी र व्यावसायिक साझेदारका रूपमा तत्कालीन गृहमन्त्री गुरुङको नाम बाहिरिएपछि उनीमाथि नैतिक संकट आइपरेको थियो ।

सार्वजनिक गरिएको सम्पत्ति विवरणमा सेयर लुकाएको तथा विवादास्पद व्यापारीसँग आर्थिक साझेदारी देखिएको भन्दै नागरिक स्तर र सञ्चारमाध्यमहरूमा व्यापक आलोचना र टीकाटिप्पणी भएपछि गुरुङले गत वैशाख ९ गते नै प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा बुझाएका थिए ।

राजीनामा दिने क्रममा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो लागि पदभन्दा नैतिकता र जनविश्वास ठूलो भएको उल्लेख गर्दै निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गरेको घोषणा गरेका थिए ।

मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।

advertisement_1676998982.gif