राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ बैशाख १६, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीहरू तोकिएको समयभित्र आफ्नो नयाँ कार्यक्षेत्रमा हाजिर हुन नगए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले पछिल्लो समय सरुवाको निर्णय भए पनि विभिन्न बहाना बनाएर पुरानै कार्यालयमा बसिरहने र नयाँ जिम्मेवारी सम्हाल्न आनाकानी गर्ने प्रवृत्ति बढेको भन्दै यस्तो निर्देशन जारी गरेको हो ।
मन्त्रालयद्वारा सार्वजनिक सूचनामा सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सम्बन्धित कार्यालय प्रमुखहरूलाई समेत सचेत गराइएको छ ।
सरुवा भएको लामो समय बितिसक्दा पनि रमाना नलिने र कार्यक्षेत्रमा नखटिने कर्मचारीहरूको विवरण संकलन भइरहेको र उनीहरूलाई निजामती सेवा ऐन बमोजिम विभागीय कारबाहीको दायरामा ल्याइने मन्त्रालयले स्पष्ट पारेको छ ।
विशेष गरी स्थानीय तह र दुर्गम क्षेत्रमा सरुवा भएका कर्मचारीहरू जान नचाहने समस्याका कारण सेवा प्रवाहमा समेत असर परेको मन्त्रालयको निष्कर्ष छ ।
यसअघि पनि पटक-पटक यस्ता निर्देशन जारी भए तापनि कार्यान्वयनमा फितलो देखिएपछि यस पटक मन्त्रालयले कडाइ गर्ने संकेत दिएको हो । अब पनि अटेर गर्ने कर्मचारीहरूको तलब रोक्का गर्नेदेखि अन्य विभागीय सजायसम्मका प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।