राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ असार ३०, काठमाडौँ । प्रतिनिधि सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रश्ताव प्रश्तुत गरेकी थिइन् ।
मन्त्री गौतमले शुरुमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रश्ताव गरेकी थिइन् ।
सभामुखले उक्त प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्दा सदनले सर्वसम्मतिले स्वीकृत गरेको हो । त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट मन्त्री गौतमले नै ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने अर्को प्रश्ताव प्रश्तुत गरेकी थिइन् । उक्त प्रश्ताव पनि बैठकले सर्वसम्मतिले पारित गरेको छ ।