राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २२ कार्तिक, २०८१
काठमाडौं, कार्तिक २२ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पर्सामा छठ पर्व हर्षोल्लाससहित मनाइएको छ । आज यहाँ जिल्लाका पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो ।
छठ कात्तिक शुक्ल चतुुर्थीबाट सुरु भएर कात्तिक शुक्ल सप्तमीको बिहानीका उदाउँदो सूर्य अर्घ्य दिएर समापन गर्ने गरिन्छ । छठ पर्वको मुख्य तिथि भने आज कात्तिक शुक्ल षष्टीको दिनलाई मान्ने गरिन्छ ।
बर्तालुका अनुसार दउरामा विशेष गरी बोटसहितको अदुवा मुला, केरा, पिँडालु, बेसार, नरिवल, स्याउ, सुन्तला केरालगायत फलफूल, प्रसादमा ठेकुवा लिएर घाटमा पूजा आराधाना गर्ने चलन छ । अर्घ्यका लागि भने कसैली सुपारी, इलाइची, ल्वाङ, सिन्दुर चढाउने परम्परा छ ।
छठ पर्वमा महिला–पुरुष भक्तजनहरुले नदीबाट जल लिएर अस्ताउँदो वा उदाउँदो सूर्यतर्फ फर्किएर अर्घ्य दिने गरिन्छ । “श्रद्धालु भक्तजन महिलाले आफ्नो परिवार र सन्ततीको सुखी र समृद्धिको कामना गर्दै पानी समेत नखाई व्रत बसी छठ मनाउँछन्”, उनले भने, “छठ पर्व प्रकृतिसँग पनि सम्बन्धित छ ।”
काठमाडाैंकाे गुहेश्वरी, कमलपाेखरी गाैरीघाट, चितवनकाे नारायणी र जनकपुरधामकाे जलाशयहरुमा सूर्यलाई अर्घ दिने व्रतालुहरुकाे भीड लागेकाे थियाे ।
भैरहवा तथा आसपासका वासिन्दाले नेपाली सेनाको काली भक्ती गणमा अवस्थित छठमाई पोखरीमा र गल्लामण्डी स्थित हनुमान मन्दिर परिसर छठ पोखरीमा सूर्यलाई अर्घ दिने व्रतालुहरुकाे भीड लागेकाे थियाे ।
जनकपुरधामका विभिन्न घाट र पोखरीमा श्रद्धालुहरूले सूर्य देवलाई सन्ध्या अर्घ अर्पण गर्दै छठ पर्व हर्षोल्लासका साथ मनाएका छन्। त्यस्तै हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आज छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले छठ पर्व मनाएका हुन् ।
तराईका केही जिल्लामा मात्र मनाइने गरिएको छठ पर्व पछिल्लाे समय काठमाडौँलगायत मुलुकका विभिन्न सहरमा धुमधामका साथ मनाइन थालिएको छ ।