राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २७ बैशाख, २०८२
२७ बैशाख २०८२, पाल्पा । पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक दुई दिने शालिग्राम महोत्सव गरिएको छ । कालीगण्डकीमा पाइने शालिग्रामको प्रचार-प्रसार गर्ने उद्देश्यले रुरुधाममा दुई दिने शालिग्राम महोत्सव आयोजना गरिएको हो ।
पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरु क्षेत्र गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, रुपन्देहीको पर्यटन डिभिजन कार्यालयको आयोजना तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा महोत्सव सञ्चालन भएको छ । यसका लागि लुम्बिनी प्रदेश सरकारको १० लाख सहयोग रहेको छ।
महोत्सवको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुभारम्भ गर्दै रुरु क्षेत्र नेपालकै चारधाममध्ये एक रहेको भन्दै ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसारलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए। उनले लुम्बिनी प्रदेशलाई तपोभूमिका रूपमा उल्लेख गर्दै यस्ता महोत्सवबाट धार्मिक पर्यटन प्रवर्द्धन भई प्रदेशको समृद्धिको आधार बन्न सक्ने विश्वास व्यक्त गरे ।
नेपालका चार प्रमुख धार्मिक धाममध्ये एक मानिने रुरु क्षेत्रमा शालिग्राम दिवसको अवसर पारेर आयोजना गरिएको यस महोत्सवमा धार्मिक, सांस्कृतिक तथा पर्यटन मूलक कार्यक्रम समावेश गरिएका छन् । महोत्सवमा शालिग्रामका विषयमा प्रचारप्रसार, प्रवर्द्धन, महत्व लगायतका विषयमा जानकारी दिइने ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले जानकारी दिए ।
महोत्सवमा एक हजार आठ शालिग्रामको पुजन, बिक्री वितरण, ऋषिकेशवको रथयात्रा, झाँकी र्यालीलगायत भजनकिर्तन, कालीगण्डकीमा सन्ध्याकालीन आरती गर्ने कार्यक्रम छ ।
सोह्रौँ शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मूर्ति फेला परेको र सोही मूर्तिलाई प्रतिस्थापन गरको भन्ने किवंदन्ती रहेको छ । कालीगण्डकीमा नुहाउन र ऋषिकेशव, गायत्रीमाता लगायत विभिन्न देवालयको दर्शन गर्न भक्तजन आउने गर्छन् ।