राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २५ श्रावण, २०८२
२०८२ साउन २४, कैलाली । कैदीहरुबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि कैलाली कारागार कैदीहरुको नियन्त्रणमा छ । शुक्रबार मध्यराति झडप भएपनि त्यसपछि कारागारभित्रको घटनास्थलमा सुरक्षा निकायलाई अवरोध गरेका कारण कैदीहरुको नियन्त्रणमा गएको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, कैलालीका प्रहरी उपरिक्षक बालनसिह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीतसहितका सुरक्षा अधिकारीहरु कारागारको अवस्था बुझ्न गएका थिए । तर कैदीहरुले उनीहरुलाई कारागारभित्र प्रवेशमा अवरोध गरेका थिए ।
‘हामीहरु अहिलेसम्म पनि कारागारभीत्र पस्न सकेका छैनौँ । उनीहरु आक्रोसित छन् । थप घटना नहोस् भनेर नै भित्र प्रवेश गर्न खोजेका छैनौँ’ प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भने ।
जिल्ला सुरक्षा समितिको बैठकले अहिले कारागार सुरक्षाका लागि सशस्त्र प्रहरी पनि तैनाथ गरेका छन् ।
घटनापछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि कारागारभित्रको घटनास्थलसम्म पुग्न सकेको छैन् । ‘घटनाबारे बुझिरहेका छौँ । कारागार प्रशासनको कार्यालयसम्म त पुग्न सकिएको छ तर कारागारभित्र भने जान सकिएको छैन’ राष्ट्रिय मानवअधिकार आयोगका एक अधिकृतले भने ।
कारागारमा शुक्रबार राति सामूहिक झडप भएको थियो । झडपमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । यसअघि ४७ जना घाइते भनिएकोमा घाइते अवस्थामै कारागारको छतमा लुकेका थप दुई जना प्रहरीको टोली पुगेपछि फेला परेका हुन ।
मृतक चौधरीको शव सेती प्रादेशीक अस्पतालको शवगृहमा राखिएको छ । घाइते ४९ जनालाई सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेर बहादुर कमरले घाइतेहरु मध्ये अधिकांशका हातखुट्टा भाँचिएका छन् । उनले झडपमा फलामका रडहरुको बढी प्रयोग भएको बताए ।
‘फलामे रडहरुको बढी प्रयोग भएको छ । घाइतेहरुलाई ठूलो चोट लागेपनि उनीहरु खतरामुक्त छन् । एकजनाको सल्यक्रिया भएको छ । एकजनालाई आईसीयुमा भर्ना गरिएको छ’ डाक्टर कमरले भने ।
सेती प्रादेशिक अस्पतालको इमरजेन्सीमा उपचारका लागि स्थान नपुगेपछि घाइतेहरुलाई नजिकै रहेको कोरोनाका बेला बनाइएको भवनमा सारिएको छ ।
घाइतेका आफन्तको गुनासो, ‘अस्पतालमा भेट्नै दिइएको छैन’
धनगढी उपमहानगरपालिका–४ का महेश चौधरी बिहानैदेखि तनावमा छन् । उनी कतिबेला सेती प्रादेशिक अस्पतालमा पुगिरहेका छन् भने कतिबेला कैलाली कारागार । उनलाई छोराको अवस्थाका बारेमा केही जानकारी पाइएको छैन ।
‘बिहानदेखि भौतारिरहेको छु, न भेट गर्न दिइएको छ, न कुनै जानकारी नै दिएको छ’ अस्पतालको इमरजेन्सीको बाहिरपट्टी भेटिएका उनले भने, ‘लामो समयदेखि कारागारमा झडप भइरहेको थियो, प्रशासनले मतलब गरेन । अहिले ठूलो घटना भयो ।’ उनका छोरा शरद चौधरी लागुपदार्थसम्बन्धी मुद्दामा कैलाली कारागारमा थिए । शरदलाई पाँच वर्षको जेल सजाय तोकिएको थियो । उनलाई जेल सजाय भोगेको दुई वर्ष भयो ।
‘छोरा भेट्न जाँदा कारागार भित्रको अवस्था नराम्रो छ भन्दैथ्यो, दुई समूहबीच झडप भइरहने र त्यसबाट सबैलाई खतरा रहेको भनियो, कारागार प्रशासनलाई पनि यसबारेमा जानकारी गराइएको थियो तर लापरवाही भएर यस्तो भयो’, महेश चौधरीले भने । उनी मात्रै होइन, सेती प्रादेशिक अस्पताल र कैलाली कारागारमा कैदीबन्दीका आफन्तहरुको भीडभाड लागेको छ ।
धनगढीकै रमेश विनाडीलाई पनि आफ्ना भान्जाका बारेका जानकारी छैन् । लागुपदार्थसम्बन्धी मुद्दामै कारागारमा रहेका उनका भान्जा पनि घाइते छन् ।
‘भान्जाको अवस्थाका बारेमा प्रशासन र कारागारले केही पनि जानकारी दिएको छैन । अस्पतालमा पनि जान दिन्न, कारागारमा पनि जान दिन्न’ विनाडीले भने । उनले कारागार भित्र लाठी, रड र भाला कताबाट गए भन्ने गम्भिर प्रश्न उब्जिएको बताए ।
‘झडपमा फलामे रड, भालाहरु प्रयोग भएका छन । ती कसरी कारागारभित्र पुगे ?’ विनाडीले प्रश्न गरे, ‘यसको छानबिन हुनुपर्छ ।’ उनले लामो समयदेखि कारागारमा झडप भइरहे पनि प्रशासनले त्यसलाई सामान्य रुपमा लिएका कारण यस्तो भएको दाबी गरे ।
समिति गठन
कारागार घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । शनिबार प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।
समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक राजकुमार सिंह, सशस्त्र प्रहरीका डिएसपी जनकराज पन्त, अनुसन्धान विभागका अनुसन्धान अधिकृत दिपेन्द्र सिह र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेको पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी हमालले बताए ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले झडप भएपछि अवस्था अलिकति असामान्य भएको तर त्यस्तो नियन्त्रणमा लिएको भन्ने समाचार गलत भएको बताए ।
उनले भने, ‘समाचारमा कारागार घटनास्थल कब्जा लिइयो भनेर आएको कुरामा म जानकार छैन । त्यहाँ सुरक्षाकर्मीले गर्ने काम गरिरहनु भएको छ । जहाँ जहाँ हुनुपर्ने हो त्यहाँ नै हुनुहुन्छ । त्यस्तो केही पनि होइन् । अहिले त्यहाँ सामान्य नै छ अवस्था ।’
घाइतेमध्ये जगदीश राना, रवि चौधरी र आयुष भट्टको अवस्था चिन्ताजनक रहेको छ ।