मंगलवार, २८ आश्विन, २०८२

कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २७ श्रावण, २०८२

कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे

२०८२ साउन २६, कैलाली कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा परी मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको शव परिवारले बुझेका छन् ।

प्रमुख जिल्ला अधिकारीबाट मृतकका परिवारले राखेका माग सुनुवाइ गर्न सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धतापछि आज मृतकका परिवारले शव बुझे प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।

प्रशासकीय अधिकृतका अनुसार मृतक परिवारका केही माग प्रदेश सरकारले सम्बोधन गर्ने भनिसकेको छ । मृतकका बच्चालाई निःशुल्क पढाउनुपर्ने मागबारे प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निकायमा कुरा गर्ने भनेपछि मृतकका परिवार सहमत भएको बताए ।

दोषीमाथि कारबाही गर्नुपर्ने र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित मृतकका परिवारले आज बिहानसम्म शव बुझ्न मानेका थिएनन् । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार साँझ मृतक चौधरीका परिवारलाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको थियो ।

कैदीबन्दीबीच बन्दीगृहमा शुक्रबार राति भएको झडपपछि घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका अन्य ४५ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते कर्ण सलामीमगर र आयुस भट्टको काठमाडौँमा उपचार भइरहेको छ ।

advertisement_1676998982.gif