राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १० भाद्र, २०८३
२०८३ भदौ १० काठमाडौँ । सरकारले बाढीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका जिल्लाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
विपदबाट प्रभावित भएको स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको हो । रसुवामा आएको बाढीबाट रसुवासहित नुवाकोट र धादिङ प्रभावित भएपछि सरकारले उद्धार, उपचार तथा राहत व्यवस्थापनलाई प्राथमिकता दिँदै विभिन्न निर्णय गरेको छ ।
त्यस्तै, घाइतेहरूको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना र सरकारी अस्पताललाई जिम्मेवारी दिइएको छ ।
घाइते तथा विचल्लीमा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेना तथा निजी हेलिकप्टर परिचालन गर्ने निर्णय गरिएको छ । त्यसका लागि उद्धार सामग्रीसहित हेलिकप्टर परिचालन गर्न गृहमन्त्रीलाई निर्देशन दिने निर्णयसमेत भएको छ ।