राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
२०८३ जेष्ठ २५, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसकै प्रभावका कारण अहिले देशको पहाडी र हिमाली भूभागमा साधारणतया बदली तथा तराई भूभागमा आंशिक बादल लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणतया बदली रहनेछ । मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने देखिन्छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली एवं पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यसैगरी मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा भने अत्यधिक गर्मी भई तातो दिन हुने सम्भावना रहेको छ ।
आज राती कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बदली, पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
रातिको समयमा कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली एवं पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।