बुधबार, २७ जेष्ठ, २०८३

पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, तराईमा भने अत्यधिक गर्मी

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, तराईमा भने अत्यधिक गर्मी

२०८३ जेष्ठ २६, काठमाडौं । हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएकाले देशका विभिन्न भूभागमा मौसममा फेरबदल भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । यसै प्रभावका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा अहिले मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली हुनेछ ।

दिउँसोको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ । यसका साथै लुम्बिनीको तराई क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहे पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा भने अत्यधिक गर्मी भई तातो दिन हुने सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ ।

आज राति कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभाग र बाँकी हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने प्रक्षेपण गरिएको छ। मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।

रातिको समयमा कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा र मधेश प्रदेशका साथै अन्य हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

advertisement_1676998982.gif