राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ जेष्ठ २९, काठमाडौं । लामो समयदेखि न्यायको ढोका ढकढकाउँदै सडक संघर्षमा होमिएका सुजन बिकको परिवारले अन्ततः सिंहदरबारभित्रै गृहमन्त्री सुधन गुरुङलाई भेटेर आफ्नो माग राखेका छन् ।
विगत तीन महिनादेखि आफ्नी दिवंगत श्रीमतीको न्यायका लागि काठमाडौँका सडकमा निरन्तर धर्ना दिँदै आएका चितवन रत्ननगर नगरपालिकाका बिकलाई गृहमन्त्री गुरुङले मन्त्रालयमै बोलाएर विशेष भेटघाट गरेका हुन् ।
आफ्नो काखमा नवजात शिशु च्यापेर न्यायको याचना गर्दै सुजन बिक गृहमन्त्रीको कार्यकक्षमा पुगेका हुन् । सो क्रममा उनले श्रीमतीको अकाल मृत्यु अस्पतालको गम्भीर लापरबाहीका कारण भएको भन्दै आँसु बगाए ।
सुत्केरी अवस्थामा अस्पतालले उचित हेरचाह र उपचार नगर्दा आफूले श्रीमती गुमाउनुपरेको र नवजात शिशुको भविष्य समेत संकटमा परेको भन्दै उनले दोषीमाथि कानुनी कारबाही र आफ्नो परिवारको संरक्षणका लागि सरकारसँग गुहार मागे ।
पीडित सुजन बिक र उनको बच्चाको कारुणिक अवस्था देखेपछि गृहमन्त्री सुधन गुरुङ निकै भावुक बनेका थिए । पीडित परिवारको सम्पूर्ण पीडा र गुनासो ध्यानपूर्वक सुनिसकेपछि गृहमन्त्री गुरुङले तत्कालै कडा कदम चानेका छन् ।
राज्य नागरिकको अभिभावक भएकाले अस्पतालको लापरबाहीका कारण कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद भएको उल्लेख गर्दै उनले यो घटनाको गहिराइमा पुगेर छानबिन गरिने र दोषीलाई कडा भन्दा कडा कारबाही हुने प्रतिबद्धता व्यक्त गरे ।