सोमबार, ८ भाद्र, २०८३

बागमतीका मुख्यमन्त्री किरण थापामगरले आज विश्वासको मत लिँदै

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

बागमतीका मुख्यमन्त्री किरण थापामगरले आज विश्वासको मत लिँदै

२०८३ भदौ ०८ काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापामगरले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मतका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ । मुख्यमन्त्री थापामगरलाई सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेले विश्वासको मत दिने तयारी गरेका छन् । नेकपाले आफ्ना २६ जना प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।

नेकपा बागमती संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रदेश सभा सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री थापामगरको आफ्नै दल नेकपा एमालेले पनि आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन र विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

यता सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र भने विश्वासको मतलाई लिएर विवाद कायमै छ । राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले आइतबार ह्विप जारी गर्दै आफ्ना प्रदेश सभा सदस्यहरूलाई मुख्यमन्त्री थापामगरको विपक्षमा मतदान गर्न निर्देशन दिएकी छन् ।

advertisement_1676551694.gif