सोमबार, १ असार, २०८३

बागमती प्रदेश सरकारले गर्यो आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख बराबरको बजेट सार्वजनिक

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

बागमती प्रदेश सरकारले गर्यो आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख बराबरको  बजेट सार्वजनिक

२०८३ असार ०१, मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा सोमबार आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले चालु आर्थिक वर्षको तुलनामा ५४ करोड ४० लाख रुपैयाँ घटाएर बजेट प्रस्तुत गरेका हुन् ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट कार्यान्वयनमा रहेकोमा सरकारले आगामी वर्षका लागि बजेटको आकार केही खुम्च्याएको हो । बजेटको आकार घटाएसँगै सरकारले प्रशासनिक खर्चमा भारी कटौतीको नीति अघि सारेको छ ।

मन्त्री तामाङले प्रशासनिक खर्चलाई ११ प्रतिशतले घटाउने लक्ष्य राखेको जानकारी दिँदै प्रदेशमा हाल कायम १४ वटा मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गरिएको र कर्मचारीको दरबन्दीमा पनि ७०० भन्दा बढी कटौती गर्ने योजना रहेको स्पष्ट पारेका छन् ।

सरकारले चालु खर्च नियन्त्रण गर्दै विकास निर्माण र पूर्वाधार विस्तारलाई उच्च प्राथमिकता दिएको छ । कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ अर्थात ६५.६९ प्रतिशत र चालु खर्चतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ अर्थात ३४.३१ प्रतिशत रकम विनियोजन गरिएको छ । यस बजेटमार्फत सडक, सिँचाइ, खानेपानी, पर्यटन, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रको विकासलाई सरकारले मुख्य आधार बनाएको छ ।

बजेट कार्यान्वयनका लागि आवश्यक स्रोतको व्यवस्थापनमा सरकारले आन्तरिक राजस्व र सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षमा कर राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख ६८ हजार रुपैयाँ र अन्य राजस्वबाट ७ अर्ब ७३ करोड ९९ लाख १२ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।

त्यस्तै, सङ्घीय सरकारबाट १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ तथा सञ्चित कोषको बचत र अन्य विविध प्राप्तिबाट १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार रुपैयाँ प्राप्त हुने मन्त्री तामाङले बताएका छन् । प्रशासनिक बोझ घटाएर विकासमुखी बजेटमार्फत आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने लक्ष्य सरकारको रहेको छ ।

Download the PDF
advertisement_1676553851.gif
अन्य समाचार