सोमबार, १ असार, २०८३

गण्डकी प्रदेशद्वारा ३३ अर्बको बजेट सार्वजनिक : पूँजीगत खर्चमा जोड

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

गण्डकी प्रदेशद्वारा ३३ अर्बको बजेट सार्वजनिक : पूँजीगत खर्चमा जोड

२०८३ असार ०१, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रदेशको समृद्धि र विकासलाई मुख्य केन्द्रमा राखेर यो बजेट सार्वजनिक गरेका हुन् ।

सरकारले प्रस्तुत गरेको बजेटमा विकास निर्माणलाई विशेष प्राथमिकता दिइएको छ । कुल बजेटमध्ये २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ अर्थात ६०.६८ प्रतिशत रकम पूँजीगत खर्चका लागि विनियोजन गरिएको छ । त्यसैगरी, १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ अर्थात ३८.५६ प्रतिशत बजेट चालु खर्चका लागि छुट्याइएको छ । वित्तीय व्यवस्थापनका लागि भने २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनका सम्बन्धमा मन्त्री शेरचनले संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ८४ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार र रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेका छन् । संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख, समपूरक अनुदानबाट ५५ करोड ४६ लाख र विशेष अनुदानबाट ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने सरकारको प्रक्षेपण छ ।

प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । चालू आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनपछि बाँकी रहने २ अर्ब रुपैयाँ नगद मौज्दातलाई बजेटमा उपयोग गरिनेछ । अपुग हुने १ अर्ब ७५ करोड रुपैयाँ भने आन्तरिक ऋणमार्फत जुटाइने मन्त्री शेरचनले जनाए ।

बजेट प्रस्तुत गर्दै मन्त्री शेरचनले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने प्रतिबद्धता व्यक्त गरे । कर्मचारीको तलब वृद्धि भए तापनि चालु खर्चलाई गत वर्षको तुलनामा १ प्रतिशतले घटाउन सफल भएको उनले दाबी गरे । बजेट अनुशासन कायम गरी सार्वजनिक खर्चको उपलब्धि अभिवृद्धि गर्ने र सञ्चित कोषलाई सन्तुलनमा राख्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताए ।

Download the PDF
advertisement_1680627680.gif
अन्य समाचार