राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
२०८२ भदौ २८, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै नेपालका युवाहरूले देखाएको नागरिक चेतना र श्रमदानको खुलेर प्रशंसा गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले नेपाली अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई पनि दिएका छन् ।
भारतको मणिपुरस्थित इम्फालमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जेनजी आन्दोलनपछि नेपाली युवाहरूले सार्वजनिक स्थल सरसफाइ र पुनर्निर्माणमा गरेको सक्रियता प्रेरणादायी भएको बताए । यसअघि शुक्रबार प्रधानमन्त्री नियुक्त भएलगत्तै तीन भाषामा बधाई दिएका मोदीले शनिबार मणिपुरमा दिएको भाषणमा पनि कार्कीको नेतृत्वको प्रशंसा गरेका हुन् ।
मोदीले भने, “अन्तरिम सरकारको प्रधानमन्त्री पद सम्हालेकोमा १४० करोड भारतीयका तर्फबाट श्रीमती सुशीला जीलाई हार्दिक बधाई दिन्छु । मलाई विश्वास छ, उहाँ नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नेछिन्।” उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा कार्की आउनु महिला सशक्तीकरणको उत्तम उदाहरण भएको उल्लेख गर्दै नेपाली जनताको लोकतान्त्रिक मूल्यप्रति प्रतिवद्धताको प्रशंसा गरेका छन् ।
उनले प्रदर्शनका बावजुद नेपाली युवाहरूले गरिरहेको रंगरोगन, सरसफाइ अभियानको पनि खुलेर प्रशंसा गरे । उनले नेपालमा नयाँ उदय भएको संकेत पनि गरे। 'एउटा अर्को अर्को कुरा पनि छ, जसमा धेरैको ध्यान गएको छैन । पछिल्ला दुई तीन दिनदेखि नेपालका युवा-युवतीहरू सडकमा सफाइ र रंगरोगनका काम मेहनत र पवित्र भावनाका साथ गरेको देखिएका छन् । सामाजिक सञ्जालमा आएका उनीहरूको तस्बिर मैले पनि देखेको छु '' उनले भने ।